उ बेलाको दशैं
जगन्नाथ शर्मा
दशैं नजिकै आउदा मलाई उ बेलाको दशैंको याद झल्झल्ति आउछ । उ बेला भनेको मेरो बाल्यकालको । अहिलेको जस्तो दशैं मनाउन सजिलो र फास्स फुस्स थिएन त्यसबेला । अहिले पो दशैंका लागि सामान एकै छिनमा जुट्छ । वजारले सहज पारेको छ । हरेक चिज वजारमा पाइन्छ अनि कतिपय सामानले काममा सहज पनि ल्याएको छ ।
मेरो मन्थलीको गाउं नजिकै पसल थिएनन् । तल वेशी झर्नुपर्दथ्यो । बा सगैं कहिले कांहिको दशैंको किनमेलका लागि म पनि बेंशी झर्थे । खड्पुले साहुको दोकानमा । काभ्रेको खड्पु बाट आएकोले खड्पुलेको पसल भन्थे । नाम पिताम्बर श्रेष्ठ थियो । कहिले करमबोट नारायणदाश श्रेष्ठको पसलमा पुग्नु पर्दथ्यो । त्यो अलि टाढा ।
त्यस बेला रेडिमेड कपडाको चलन थिएन । सवै थानको कपडा किनेर सिलाउनु पर्दथ्यो । तीन भाइलाई एकै थानको कपडा । सर्ट पाइन्ट । वुट्टा एउटै । अर्को वुट्टा हुने वित्तिकै लडाई पर्दथ्यो । यो राम्रो , त्यो नराम्रो भनेर । त्यसैले एकै थानको कपडा किनेर ल्याउने बा को बानी थियो । दिदी बहिनीलाई पनि त्यसै अनुसारको । कपडा प्राय दशैंमा मात्र किन्ने चलन थियो । एक जोर हैन, फेरफारका लागि अर्को जोर पनि दशैमानै किन्ने गरिन्थ्यो । कोराको कपडाको पोकोमा एक पोको हुन्थ्यो लुगा ।
लुगा ल्याएपनि सिलाउन समस्या । दशैंको चटारो गाउंभर हुन्थ्यो । वाली दिएको कटुवाल भनेको बेलामा आउदैथे । बल्ल बल्ल आएपछि दुई दिन लाग्थ्यो लुगा सक्न । केहि गरी सकिएन भने घरमै लान्थे । राति सिलाउछु भनेर । कटुवाल लुगा सिलाउन वसेपछि हामी छेउमै झुत्तिथ्यौं । जाउ भन्दा पनि मान्दैनथ्यौ । हाते मेसिन घुमाउदै कटवालले टेडो आंखाले हेर्दा पनि भाग्दैनथ्यौं । दिनभर कटुवालको छेउमै वस्थ्यौं । आफ्नो लुगा सकेर दिदा पनि सिलाएको हेर्दै वसेका हुन्थ्यौ ।
लुगा नाप्ने अहिलेको जस्तो टेप वा ईन्ची फित्ताको चलन थिएन । हातको वित्ताले नापो लिने कटुवाल दाईले घांटीको मयल नङले कोट्याएर ल्याएर कपडामा चिनो दल्थे । कहिले कांहि भुई कोट्याएर माटोको चिनो लगाउथे । मेसिन घुमाएको, भित्री धागो वेरेको, मेसिनमा तेल हालेको अनि नयां लुगा लगाउदाको गन्ध सुग्ध्यै हामी रमाउथ्यौं ।
दशंैका लागि घर लिपपोत गर्दा पनि रमाईलो हुन्थ्यो । अहिलेको जस्तो चलानी रङ्ग पाईदैनथ्यो । रातो माटो र कमेरो लगाउनु पर्दथ्यो । कमेरो हाम्रो गाउ तिर नपाईने भएकाले पिपले, कठजोर पुग्नु पर्दथ्यो । कहिले कांहि सुनारपानी तिर बाट ल्याउथे । रातोमाटो घरै नजिक थियो । हामी चिप्लीडाडा“ भन्थ्यौं । बर्षामा गाई बाख्रा चराउन जांदा त्यहि माटोमा चिप्लेटी खेल्ने गरेकाले चिप्लीडा“डो भनेको होला । त्याहा माटो लिनका लागि आकाशे ( बेशि) देखि बाट आउथे । घर टाल्नका लागि लिसाईलो माटो चाहिन्थ्यो । तल्लो आहाल नजिक पाईन्थ्यो । त्यहि ल्याएर लिप्सिन्थ्यौ । सानो खोपामा काठ हालेर खट वनाएर घर लिप्सिीदा चिप्लीएर मरिएला भन्ने पिरलो । लिप्सीएको माटो फुट्थ्यो । फेरी गोवर मिलाएर अर्को पटक टाल्थ्यौं । जिउ हिलाम्मे हुदा पनि घर टाल्न र लिप्सीन रहर लाग्थ्यो । फुलपातीको अघील्लो दिन रातो माटोले घर छेप्थ्यौं । त्यो झम्मार काम हुन्थ्यो ।
घरका झ्याल ढोकामा लगाउन अहिलेको जस्तो इनामेल पाईदैनथ्यो । बनमा पाईने साल, अमला अनि (ख्यै मैले बिर्से पनि ) का बोक्रा ल्याएर कुट्ने, पकाउने गरेर कालो झोल वनाईथ्यो । त्यो झ्याल ढोकामा लगाउदा अर्कै रौनक देखिन्थ्यो । आंगन, चौघेरा, घरको कुलेसाहरु बडारकुडार पारेर दशैं आएको जस्तो पारिन्थ्यो ।
चिउरा आफ्नै ढिकीमा कुटिन्थ्यो । जर्नेली धान उमालेर ढिकीकै छेउमा फुटेर कुटेको चिउराले ढिकेटोनै मग्मगी वसाउथ्यो । चिउरा घान लगाउदा ढिकीको मुसल मेरो हात माथि वजारीएको अहिले जस्तो लाग्छ । ठुलो घाउ लाग्दा पनि म अस्पताल गईन । नजिकै औषधि र अस्पताल पाईदैनथ्यो । रामेछाप पुग्नु पर्दथ्यो । ढिकीले कुटेको घाउ निको पार्न आफ्नै पिसाव हाल्नुपर्छ भन्थे । नभन्दै मैले हातमै पिसाव फेरीदिएर घाउ ठिक पारे । अहिले पनि खत छ । आप झुत्ते , रामविलास, जर्नेली, पोखरेली चामल हुन्थ्यो । दशैंमा अरु बेलाको भन्दा राम्रो र मिठो चामल खाने चलन थियो ।
दशैंका बेला अहिलेको जस्तो केरा पाईदैनथ्यो । सबैंको घरमा केराको घारी हुदैनथ्यो । केरा किन्न हामी रामेछाप हाट जान्थ्यौं । रामेछाप हाटमा थरी थरीका असख्य केरा आउथ्यो । हेर्दा दशैभरी रहने जस्तो का“चो का“चो केरा ल्याउथ्यौं । मन्थलीबाट केराका लागि जान आउन ६ घण्टा लाग्ने रामेछाप पुग्दा थकाईको महसुस हुदैनथ्यो । केरा ल्याएकोमा थकाईलाई खुसीले जित्थ्यो । मर मसला धुलो पार्ने चलन थिएन । मजाले सिलौटामा पिसेर तत्काल हालिन्थ्यो । त्यहि भएर होला त्यसको बास्नानै अर्कैै आउथ्यो । प्याज , टमाटर अनेक किसीमका मरमसलाको चलन थिएन । जिरा धनिया र गरम मसला बस ।
फुलपातीको दिन गाउंमा पिङ हाल्ने काम हुन्थ्यो । पिङका लागि बाबियो लिन घैयाखोरीया सम्म पुग्नुपर्दथ्यो । बावियोका लागि पैसा उठाउने, पिङ बाट्ने काममा औधि रमाईलो हुन्थ्यो । कोला पिपलको रुखमा पिङ झुण्याउन गाउ“भरका युवा जुटेका हुन्थ्यौं । राति अवेर सम्म पिङमा झुत्ति खेल्ने गरेको अहिले जस्तो लाग्छ । गाउं सानो भएकाले हाम्रो गाउ“मा रोहोटे पिङ हालेको थाहा छैन । लिङ्गेपिङ फर्कने गरी आकाश पुग्ने गरिन्थ्यो । दोहोरी पनि त्यतिनै माथि पुग्थ्यौ । पिङमै मादल वजाएर नाचगान पनि हुन्थ्यो ।
दशैंमा अष्टमीको दिन हाम्रो घरमा मार हुन्थ्यो । अहिले पनि अष्टमीमै हुन्छ । मार हान्ने दिन विहानै दुर्गा पुजा सकेर खसी काट्ने मानिस वोलाउन म गाउंतिर जान्थे । भनेको समयमा खसी काट्ने मानिस आउदैनथे । भ्याई नभ्याई हुन्थ्यो । खसी नकाटि खानु हुदैन भन्थे । दुर्गा पुरा सकेर पनि खाईदैनथ्यो । खसी काटेपछि रामेछापबाट ल्याएको केरा हालेर दहि चिउरा खाईन्थ्यो । दहि चिउरा र केरा खाने दिन विशेष त्यहि दिन हो जस्तो लाग्थ्यो ।
टीकाको दिन घरमा टिका लगाएर पैसा गनिथ्यो । ५ र १० का नोट कति गन्नु । गाउं तिर जादा पनि तिनै नोट थपिन्थे । नजिकै बुढामावल जाईन्थ्यो । अरु यजमानको घरमा पनि पसिन्थ्यो । सवैले दक्षिणा दिदा दशैंमा सिलाएर पोलिष्टरको सटको गोजि भरिन्थ्यो । वुढामावल जादा बाटोमा डम्फर खाएको, बुढामावलमा पुग्दा आंटी अम्बा खाएको अहिले जस्तो लाग्छ ।
टीकाको दिन बेलुका घरमा पाहुना आउनुहुन्थ्यो । दिदी भिनाजु भान्जा भान्जि । हाम्रो धेरै गतिलो घर थिएन । घर र गोठ दुई तिर बाडेर सुत्नु पर्दथ्यो । बा र भिनाजुहरु भएको तिर हामी पनि जाने । धेरै राति सम्म घर व्यवहारका कुरा गरेर वस्ने चलन थियो । अहिलेको जस्तो अहिलेको खवर अहिले पाईने कुरा थिएन ।
क्याटेगोरी : विचार
ताजा अपडेट
- १ अमेरिकामा दशैंको रौनक , एनआरएनएका नेता सुवेदी सँग तीन सयभन्दा बढीले गरे टिका ग्रहण
- २ राष्ट्रपति समक्ष महिला आयोगको प्रतिवेदन पेश
- ३ काठमाडौंबाट सिन्धुली जाँदै गरेकाे बस रामेछापमा दुर्घटना हुदा एकजनाकाे मृत्यु १० जना घाइते
- ४ राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रध्यानन्यायधीशकाे सपथ ग्रहण
- ५ बाढी प्रभावित माझी बस्तिमा डा. सैयदद्वारा खाद्यान्न सामग्री वितरण
- ६ मन्थली काठमाण्डौं नियमित उडान सुरु
- ७ रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सिफारिस
- ८ रामेछाप ,दाेलखा हुँदै काठमाडौ सडक संचालनमा
प्रतिक्रिया दिनुहोस