राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपरान्ह नेपाल आइपुगेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले यस्तो बताएका हुन ।
“आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भिर हुनुपर्छ भन्ने म ठान्दछु”, राष्ट्रपतिको भनाई उद्यृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सल्लाहकार पाेखरेलका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको बताए । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्ति पुनस्र्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।
त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए । अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । अमिरले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा प्रशंसा गर्दै आभार प्रकट गरे । उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट पारेका थिए ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस