क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता एसियाकपका लागि नेपाल छनौट
काठमाडौँ — नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा प्रतिस्पर्धाका लागि छनोट भएको छ । मंगलबार किर्तिपुर स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पारेको हो ।
प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान रहेको थियो । नेपालले पहिलो पटक एसिया कप खेल्ने भएको छ । पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ । गुलशन झा र भीम सार्कीले अविजित अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा भेट्याएको थियो । झा र सार्कीले ९६ रनको साझेदारी गरेका थिए । गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेली ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरेका थिए ।
नेपालको सुरुआत राम्रो थिएन । ८ ओभरमा नेपालले २२ रनमात्र बनाउँदा ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल १ रनमा आउट भए । उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे । आसिफ शेख पनि एलबीडब्लु आउट भए । उनलाई आयन खानले ८ रनमा आउटगरेका थिए ।
नेपाली टिमका कप्तान रोहित पौडेल १ रनमात्र बनाई रोहन मुस्ताफाको बलमा बोल्ड भएपछि निकै दबाबमा परेको नेपाललाई गुलशन र भीम मिलेर उकासेका थिए । यूएईबाट मुस्ताफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो । त्यही स्कोरबाट मंगलबार खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस