‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
काठमाडौं — नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना दिवसकाे अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा प्रकाशित कानुन तथा न्याय क्षेत्रका पुस्तकमध्ये अधिवक्ताद्वय उद्धवप्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको छ।
रिनोभेसन नेपालले प्रकाशन गरेको उक्त पुस्तकलाई नेपाल कानुन व्यवसायी परिषद्ले कानुन तथा न्याय क्षेत्रमा प्रकाशित उत्कृष्ट कृतिका रूपमा छनोट गरेको हो। परिषद्ले आयोजना गरेको स्थापना तथा आत्ममूल्याङ्कन दिवस समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पुस्तकका लेखकद्वयलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । ‘न्यायिक समितिको सारथी’ स्थानीय तहमा न्यायिक समितिको कार्यसम्पादन, विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन तयार गरिएको व्यवहारिक कानुनी सन्दर्भग्रन्थ हो।
पुस्तकमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा न्यायिक समितिको अधिकारक्षेत्र, उजुरी व्यवस्थापन, मेलमिलाप, निर्णय प्रक्रिया, निर्णय लेखन र अभिलेख व्यवस्थापन लगायतका विषयलाई सरल तथा व्यवहारिक रूपमा प्रस्तुत गरिएको छ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहलाई प्राप्त न्यायिक अधिकारको प्रभावकारी प्रयोग, न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि तथा नागरिकलाई स्थानीय तहमै न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले पुस्तक तयार गरिएको हो।
पुस्तकमा कुन प्रकृतिका विवाद न्यायिक समितिले हेर्न मिल्छ, उजुरी कसरी ग्रहण गर्ने, पक्षहरूबीच मेलमिलाप कसरी गराउने, निर्णय कसरी लेख्ने तथा निर्णयको कार्यान्वयन र अभिलेख व्यवस्थापन कसरी गर्ने भन्नेजस्ता व्यवहारमा आइपर्ने विषयलाई समेत समेटिएको छ। त्यसैले यो पुस्तक स्थानीय न्यायिक अभ्यास र मेलमिलाप प्रणालीका लागि व्यवहारिक मार्गदर्शकका रूपमा उपयोगी हुने लेखकहरूको भनाइ छ।
स्थानीय तहका न्यायिक समितिका संयोजक तथा सदस्य, कानुन अधिकृत, कर्मचारी, मेलमिलापकर्ता, कानुन व्यवसायी, जनप्रतिनिधि, विद्यार्थी तथा न्यायका क्षेत्रमा कार्यरत व्यक्तिका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्रीका रूपमा रहेको छ।
सम्मान ग्रहण गर्दै अधिवक्ता उद्धवप्रसाद अधिकारी र अधिवक्ता रामबाबु नेपालले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि स्थानीय न्याय प्रणाली, न्यायिक समिति र मेलमिलापको संस्थागत विकासका लागि गरिएको प्रयासको सम्मानका रूपमा लिएको बताए । संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहमा स्थापित न्यायिक समितिको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक कानुनी ज्ञान, प्रक्रिया र अभ्यासलाई एउटै सन्दर्भ सामग्रीमा समेट्ने प्रयासस्वरूप पुस्तक तयार गरिएको उनले बताए । स्थानीय तहमा न्याय सम्पादनका क्रममा जनप्रतिनिधि तथा सरोकारवालाले भोग्ने व्यवहारिक कठिनाइलाई समेत पुस्तकले सम्बोधन गर्ने लेखककाे भनाइ छ।
नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायको विकाससँगै कानुनी अध्ययन,अनुसन्धान तथा प्रकाशनका क्षेत्रमा योगदान पुर्याउने कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट पुस्तकलाई सम्मान गर्दै आएको छ। यस वर्ष ‘न्यायिक समितिको सारथी’लाई कानुन तथा न्याय क्षेत्रमा प्रकाशित उत्कृष्ट पुस्तकका रूपमा छनोट गरी लेखकद्वयलाई सम्मान गरिएको हो।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कानुन तथा न्याय क्षेत्रका विशिष्ट व्यक्तित्व, न्यायाधीश, वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायी, परिषद्का पदाधिकारी, कानुनी क्षेत्रका विज्ञ तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
स्थानीय तहमा न्यायिक समितिको अभ्यास सुरु भएको करिब एक दशकको अवधिमा यसको अधिकारक्षेत्र, कार्यसम्पादन र प्रक्रियागत पक्षमा देखिएका जटिलतालाई सम्बोधन गर्न व्यवहारिक अध्ययन तथा सन्दर्भ सामग्रीको आवश्यकता बढिरहेका बेला ‘न्यायिक समितिको सारथी’ले प्राप्त गरेको सम्मानलाई स्थानीय न्याय र मेलमिलापको क्षेत्रमा गरिएको अध्ययन तथा लेखनको महत्वपूर्ण मान्यताका रूपमा हेरिएको छ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस