शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल

ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेलले हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनु भएको छ । राष्ट्रपति पौडेलले सेन्ट मेरीज माध्यमिक विद्यालय जावलाखेलको ७० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
“विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।देशमा उत्पादन, रोजगारी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासप्रति केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले निश्चय नै शिक्षा अन्तस्करणको चेतना जागृत गर्ने माध्यम मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको अचुक अस्त्र पनि हो र यसले आलोचनात्मक चेतको विकास गर्छ भन्नुभयो । साथै, उत्तरदायी, जवाफदेही र निर्णय क्षमता अभिवृद्धिबाट आफू, देश र जनताको हितमा समर्पित हुने ऊर्जा शिक्षाले दिने उहाँको भनाइ थियो ।
मुलुकमा राजनीतिक परिवर्तनपछि शिक्षा, स्वास्थ्य, सञ्चार एवम् सूचना प्रविधि, सडक, पूर्वाधार, जलविद्युत र ग्रामीण क्षेत्रको विकासमा प्रगति भएको बताउँदै उहाँले यही लोकतान्त्रिक शासन प्रणालीले निर्वाध स्वतन्त्रता मात्र होइन विकास, भरोसा र प्रगतिको उज्यालो देखाएको छ भन्नुभयो । “सच्चिने, सिंहावलोकन गर्ने अनि अगाडि बढ्ने उच्चतम अवसर यही शासन प्रणालीले निःसृत गरेको छ, हामीले निराशा, गुनासा र असन्तुष्टि त्याग्नैपर्छ । अनि सुशासनको माध्यमबाट आशा, भरोसा, प्रगति र विकासको एउटा अविराम यात्रालाई सबै मिलेर पूरा गर्नु हामी सबैको साझा दायित्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले युग निर्माणको यो युगिन अवसरबाट हामी चुक्न हुँदैन भन्दै त्यसको लागि आवश्यक योजना, उपयुक्त नीति, स्वप्नदर्शी नेतृत्व र जनता केन्द्रित सरकारका कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । “त्यहीअनुसारको शिक्षा दिएर सक्षम, योग्य र उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्दछ, नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुन दृष्टि यसैमा केन्द्रित होस् भन्ने म चाहन्छु”, उहाँले भन्नुभयो ।
उहाँले शिक्षा प्राप्त गर्नु भनेको केवल ज्ञान प्राप्त गर्नु मात्र हैन, यसले जीवनको आदर्शलाई उच्च बनाउनुपर्छ भन्नुभयो । “न्याय, निष्ठा, नम्रता, स्वाभिमान, स्वतन्त्रता, मानवता, प्रेम, सेवा, करुणाजस्ता मानवीय गुणका शास्वत र अनन्त स्वरुपलाई धारण गर्दै सार्थक जीवन जीउने कला सिकाउनुपर्दछ । असल र गुणस्तरीय शिक्षाबाट नै मानव जीवनको सार्थकता प्रमाणित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ दशै टीकाकाे उत्तम साइत कहिले ?
- २ आज देशभर सार्वजनिक बिदा
- ३ बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइने
- ४ सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण
- ५ रामेछाप कारागार ताेडेर कैदीले गरे भाग्ने प्रयास, नियन्त्रणमा लिनखाेज्दा २ काे मृत्यु ११ घाइते
- ६ गृहमन्त्री लेखकले दिए राजीनामा
- ७ भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा
- ८ शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल
प्रतिक्रिया दिनुहोस