• काेसिस न्यूज
  • सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल


    रामेछाप – जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले अदालती प्रक्रिया र कानुनी सचेतनाबारे सर्वसाधारणलाई जानकारी गराउँदै गाउँ–गाउँ पुग्ने अभियान सञ्चालन गर्दै आएका छन्।

    अदालतको ‘न्यायिक बाह्य पहुँच कार्यक्रम’ अन्तर्गत उनले बुधबार तामाकोशी गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालय, खिम्तीमा स्थानीय बासिन्दा र विद्यार्थीहरूकाे जिज्ञासा सम्बाेधन गर्दै न्यायाधीश नेपालले नागरिकका हकहित, मुद्दाको प्रकृति, अदालती प्रक्रिया र न्याय निरूपणका विषयमा विस्तृत जानकारी दिएका थिए। उनले भने, “कुनै पनि नागरिक कानुनी जानकारीको अभावमा अन्यायमा नपरोस् र सबैको अदालतमा सहज पहुँच होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”

    जिल्ला अदालत रामेछापका श्रेस्तेदार सुरेश केसीका अनुसार, न्यायिक बाह्य पहुँच कार्यक्रममार्फत अदालतले स्थानीय तहमा पुगेर कानुनी सचेतना अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

    त्यस्तै, अदालतकी तहसिलदार बिमला पन्थीले सामान्य कानुनी ज्ञान नहुँदा नागरिकहरूले अनावश्यक दुःख भोग्नुपर्ने अवस्था रहने भएकाले यस किसिमका कार्यक्रमहरू अत्यावश्यक रहेको बताइन्।

    त्यसैगरी समुदायमा सरकारी वकिल कार्यक्रम मार्फत नागरिकमा कानुनी सचेतना अभियान संचालन गरिरहेकाे सरकारी वकिल लोकबहादुर कटुवालले जानकारी दिए ।

    कार्यक्रममा सहभागी सर्वसाधारण र विद्यार्थीहरूले न्याय निरूपण प्रक्रिया तथा कानुनी प्रणालीबारे विभिन्न जिज्ञासाहरू राखेका थिए।

    जिल्ला अदालत रामेछापले आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न स्थानमा पुगेर कानुनी सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।


    क्याटेगोरी : शिक्षा, समाचार

    प्रतिक्रिया दिनुहोस