• काेसिस न्यूज
  • सरकारसँग ६ बुँदे सहमतिपछि डा. केसीको सत्याग्रह अन्त्य


    काठमाडौँ । नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएपछि उनको २५औँ सत्याग्रह अन्त्य भएको छ। शनिबार राति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिमा हस्ताक्षर गरेपछि डा. केसीले अनशन तोडेका हुन्।

    पटकपटकको छलफलपछि सरकार र डा. केसीबीच सहमति जुटेको हो। अनशन तोडिएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गरे। उनले सहमतिमा उल्लेखित विषय कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताए।

    ‘यो डा. केसीको अन्तिम अनशन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ,’ मन्त्री पोखरेलले भने।

    सरकार र डा. केसीबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

    सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको २०८३ असोज ३० गतेको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति प्रदान गर्नुका साथै सिट संख्या निर्धारण गरिनेछ।

    त्यस्तै, आर्मी मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा एमबीबीएसतर्फ सिट संख्या थप गर्ने निर्णय निर्धारित मापदण्डअनुसार भए/नभएको छानबिन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिने सहमतिमा उल्लेख छ।

    उक्त समितिले सरकारलाई प्रतिवेदन बुझाउनेछ। सरकारले प्रतिवेदनका सिफारिस कार्यान्वयन गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइने सहमति भएको छ।

    ६ बुँदे सहमतिसँगै लामो समयदेखि चिकित्सा शिक्षा सुधारका माग राख्दै सत्याग्रह गर्दै आएका डा. केसीको पछिल्लो आन्दोलन टुंगिएको छ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस