टाेल – टाेलमा आयुर्वेद सेवा
रामेछाप – आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीले नागरिकको पहुँचमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित टोल–टोलमा औषधिसहितको उपचार सेवा सुरु गरेको छ ।
यसअघि गाउँ–गाउँमा पुगेर सुगर, प्रेसरलगायतका स्वास्थ्य परीक्षण र परामर्श दिँदै आएको चिकित्सालयले अब चिकित्सक, स्वास्थ्यकर्मी र औषधिसहितको टोलीमार्फत बस्तीस्तरमै उपचार सेवा दिन थालेको हो । चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार अब स्वास्थ्य जाँचसँगै आवश्यक औषधि प्रदान गर्दै उपचार पनि सुरु गरिएको छ । ‘पहिले हामी घरदैलोमा गएर स्वास्थ्य जाँच मात्र गर्दै आएका थियौँ,’ कार्कीले भन्नुभयो, ‘अब चिकित्सक र औषधिसहितको टोलीले टोलमै पुगेर उपचार सेवा पनि दिन थालेको छ ।’
उहाँका अनुसार यो सेवा साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको छ । प्रत्येक हप्ताको बिहीबार मन्थली र आसपासका क्षेत्रलाई लक्षित गरी टोली गाउँ–बस्तीमा पुग्ने गरेको छ ।
गाउँमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा धेरै नागरिकमा मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर)को समस्या देखिएको कार्कीले जानकारी दिनुभयो । यसका साथै हाडजोर्नी दुख्ने, सुन्निने, शरीर झमझमाउने तथा पेटसम्बन्धी रोगीहरूको संख्या पनि उल्लेख्य रहेको पाइएको छ ।
गाउँमा जाने स्वास्थ्य टोलीले प्रारम्भिक स्वास्थ्य जाँच, आवश्यक परामर्श तथा सामान्य औषधि वितरण गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सालयमा आउन आग्रह गर्ने गरेको छ ।
चिकित्सालयले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, पूर्वकर्म तथा पञ्चकर्म सेवा (विभिन्न प्रकारका थेरापी, मालिस, मसाज, सिरोधारा, नस्यकर्म), फिजियोथेरापी, अकुपञ्चर, ल्याब सेवा लगायतका उपचार प्रदान गर्दै आएको छ । साथै प्रत्येक हप्ताको सोमबार बिहान होलबडी चेकअप सेवा पनि सञ्चालन हुँदै आएको छ ।
पछिल्लो समय सेवा विस्तारसँगै चिकित्सालयमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको कार्कीले बताउनुभयो । ‘चिकित्सालयसम्म आउन नसक्ने वा यहाँको सेवाबारे जानकारी नपाएका नागरिकलाई गाउँमै पुगेर उपचार दिने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो,’ उहाँले भन्नुभयो ।
चिकित्सालयले स्थानीय तहसँग सहकार्य गर्दै पालिका स्तरमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको जनाएको छ । ती शिविरहरुमा पनि सेवाग्राहीकाे भिड लाग्ने गरेकाे छ ।
क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस