• काेसिस न्यूज
  • गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने


    काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले उहाँप्रति श्रद्धासुमन अर्पण गरिरहेका छन्।

    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले श्रेष्ठको पार्थिव शरीरमा फूलमाला अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले श्रेष्ठको निधनसँगै नेपाली कांग्रेसले अनुभवी, निष्ठावान तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेतालाई गुमाएको बताउनुभयो।
    ७९ वर्षको उमेरमा श्रेष्ठको निधन भएपछि नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रद्धाञ्जलीस्वरूप विभिन्न शोक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

    पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार श्रावण १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। साथै, श्रावण १४ गते बिहीबार देशभरका कांग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द रहनेछन्।

    त्यसैगरी, श्रेष्ठको स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने र उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

    लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठ लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। पार्टी संगठन सुदृढीकरणदेखि राष्ट्रिय राजनीतिसम्म उहाँले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस