पार्टीभित्रको एकता नै जितको आधार : रामचन्द्र खड्का
रामेछाप — नेपाली कांग्रेस रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले पार्टीभित्र देखिएको एकता र सद्भावलाई आफ्नो निर्वाचन जित्ने मुख्य आधार भएको बताएका छन् ।
खाँडादेवी गाउँपालिका–स्थित मझुवामा आयोजित चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै खड्काले उम्मेदवारी टुंगिएपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको उल्लेख गरे । ‘टिकट पाएपछि पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म देखिएको एकता र सद्भाव नै मेरो जितको पहिलो आधार हो,’ उनले भने ।
राजनीतिक जीवनभर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रयास गरेको दाबी गर्दै खड्काले त्यसकै परिणामस्वरूप आज सबै पक्षको सहयोग र समर्थन पाएको बताए । ‘एकता नै मेरो बल हो,’ उनले थपे । पदमा रहे वा नरहे पनि जीवनको अन्तिम क्षणसम्म राजनीतिलाई सामाजिक सेवाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पार्टीभित्र टिकटका लागि केही नेताहरूको आकांक्षा देखिए पनि अन्ततः खड्काले उम्मेदवारी पाएपछि पार्टीले न्याय गरेको भन्दै आन्तरिक र बाह्य रूपमा सकारात्मक प्रतिक्रिया आएको कांग्रेस नेताहरूको भनाइ छ । निर्वाचन प्रचार–प्रसारमा सबै तहका नेता–कार्यकर्ता योजनाबद्ध रूपमा सक्रिय रहेको र यसअघि निष्क्रिय देखिएका केही कार्यकर्ता समेत उम्मेदवारी टुंगिएपछि सक्रिय बनेको जनाइएको छ ।
यसैबीच, नेपाली कांग्रेस रामेछाप प्रदेश ‘क’ का सभापति निरोज खड्काले पार्टी नेतृत्व रूपान्तरणसहित नयाँ शिखातर्फ अघि बढ्न आतुर रहेको बताएका छन् । चुनावी कार्यक्रममा बोल्दै उनले कांग्रेस चुनाव जित्न मात्र नभई अत्यधिक बहुमतसहित मुलुकको नेतृत्व गर्ने तयारीमा रहेको बताए ।
‘परिवर्तन भएर आएको कांग्रेसप्रति अझै पनि नागरिकको भरोसा छ,’ उनले भने, ‘चुनावअघि देखिएको सुधार र परिवर्तनको अनुभूति विजयपछि नागरिकले महसुस गर्नेछन् ।’ उनले एकपटक कांग्रेसलाई अवसर दिन नागरिकसँग आग्रह गर्दै निर्णायक शक्ति आम मतदाता नै भएको उल्लेख गरे ।
व्यक्तिको जितभन्दा पार्टीको जित महत्वपूर्ण हुने धारणा राख्दै सभापति खड्काले ऐतिहासिक जिम्मेवारी बोकेको कांग्रेसले फरक शैलीमा देशको नेतृत्व गर्ने अवसर नागरिकले दिनेमा आफू आशावादी रहेको बताए । पात्र र प्रवृत्ति परिवर्तनसहित नयाँ नेतृत्वमा आएको कांग्रेस अब मुलुकको मुहार फेर्न अग्रसर रहेको उनको भनाइ छ । कांग्रेस विजयी भएमा गाउँ, वडा, पालिका हुँदै सिङ्गो मुलुक समृद्धिको बाटोमा अघि बढ्ने दाबीसमेत उनले गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस