आज राष्ट्रपतिको निर्वाचन हुदै :पाैडेल र नेम्वाङबीच प्रतिस्पर्धा

काठमाडौ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि आज बिहीबार निर्वाचन हुँदै छ । निर्वाचनका लागि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको तयारी भएको छ ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् । अधिकृत पाैडेलले निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुनेछ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको हो । पौडेललाई नेपाल समाजवादी पार्टीको समेत समर्थन छ ।
नेकपा (एमाले)का उम्मेदवार नेम्वाङको प्रस्तावक र समर्थक सबै जना सोही दलका छन् । सङ्घीय संसद् र प्रदेश सभामा कुल १४ दलको प्रतिनिधित्व छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले भने अझै निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मतदानमा भाग नलिने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा मात्रै छ । प्रतिनिधि सभामा सो दलको १९ जना सदस्य छन् । हाम्रो नेपाली पार्टीको भने बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित एक जना सदस्य छ ।
राष्ट्रपति निर्वाचनमा ८८२ जना मतदाता छन् तर जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएपछि कुल मतदाता ८८१ कायम हुने भएको छ ।
सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९ र प्रतिनिधि सभाका २७३ तथा प्रदेश सभाका ५५० जना गरी ८८२ मतदाता रहेकोमा प्रतिनिधि सभाका अब २७२ सदस्यले मात्रै मतदान गर्न पाउनेछन् ।
प्रतिनिधि सभामा चितवन–२ रिक्त छ । मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परेकाले उनको नाम मतदाताको सूचीमा छैन । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो नेपाल प्रहरीको फरार सूचीमा छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहने निर्वाचन मण्डल हुनेछ । निर्वाचन मण्डलमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ कायम गरिएको छ भने प्रदेश सभा सदस्यको मतभार ४८ रहने उल्लेख छ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को दुवै सदनका सदस्यको कुल मतभार २६ हजार १४९ हुनेछ । प्रदेश सभा सदस्यको मतभार २६ हजार चार सय हुनेछ । यसरी कुल मतभार ५२ हजार ५४९ कायम भएको छ । ऐनबमोजिम दुई जना उम्मेदवारमध्ये २६ हजार २७५ वा सोभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।
क्याटेगोरी : राजनीति
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस