• काेसिस न्यूज
  • प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै


    काठमाडौं – नेपाल प्रेस युनियनले पहिलो पटक ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । युनियनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि वैशाख २७ देखि ३० गतेसम्म सो समिट गर्न लागेको जानकारी दिएको हाे ।

    नागरिक सम्बृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समिटको आयोजना गरिएको युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए । उक्त समिट काठमाडौदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्नेछ । समिटमा विश्वको बद्लिदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती, दक्षिण एसियामा मिडियाले भोग्न परेका समस्या र यस क्षेत्रमा पत्रकारिताको प्रभावका बारेमा छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिए ।

    समिटमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट विषय विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यतालिका रहेकाे छ । त्यसैगरी समिटमा नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्न परेका कठिनाई, अवसर र चुनौतीका बारेमा छलफल गरि सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ ।

    वैशाख २७ गते ललितपुरको होटल हिमालयमा विहान ९ बजे समिटको औपचारिक समुदघाटन गरिने छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सव्वा गरुङ, परराष्ट्र मन्त्री डा.आरज राणा देउवा लगायतको सहभागिता रहनेछ । 

    उद्घाटन समारोहपछि राजधानीमा ‘राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रस्तुती तथा बहस हुनेछ । सो बहसपछि विदेशी पत्रकारसहित करिव एक सय ५० जना पत्रकार काठमाडौदेखि पोखरा हुँदै मुस्ताङको लोमन्थाङसम्मको यात्राको लागी निस्किनेछन् । 

    समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुती तथा बहस हुनेछ । उक्त दिन पहिलो सत्र ‘जलवायु संकट र पत्रकारिता’, दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुती तथा छलफल हुनेछ ।

    त्यसैगरी समिटको तेस्रो दिन पोखरादेखि मुस्ताङस मिडिया यात्रा हुन्छ भने चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाको सहभागीतामा ‘जलवाय संकटमा मिडियाको भूमिका’ बारेमा बृहत अन्तक्रिया हुनेछ । सोही दिन लोमान्थाङ घोषणा पत्र जारी गरि कार्यक्रम सम्पन्न गर्ने योजना रहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस