• काेसिस न्यूज
  • रामेछाप कृषि ,पर्यटन मेलामा अतिथि खचाखच ,दर्शक न्यून, स्टल आधा खालि


    रामेछाप – जिल्लाकाे सदरमुकाम मन्थलीमा आजबाट कृषि, पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी सुरु भएको छ। रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा बुधवारबाट मेला सुरु भएकाे हाे ।

    जिल्ला समन्वय समिति रामेछापको पछाडिकाे प्राङ्गणमा सुरु भएको मेला माघ २६ गते सम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष सुरकृष्ण वैद्यद्वारा उद्घाटन गरिएकाे छ । कार्यक्रम उद्घाटन गर्दै वैद्यले बजारलाई चलायमान बनाउन यस्ता मेला प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासका लागि मेला, महोत्सवले सहयोग पुग्ने बताए ।

    त्यसैगरी बागमति प्रदेश सभा सदस्य तथा उद्योग, पर्यटन र वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले तीन खम्बे अर्थनीतिलाई अगाडी बढाउनु पर्ने बताए । राज्यको महत्त्वपूर्ण साझेदारका रूपमा रहेको निजी क्षेत्रको विकासका लागि सरकार गम्भीर रुपमा लागिपरेकाे बताए ।

    कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेमबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डिल्ली बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, नेकपा माओवादी केन्द्रका नेता उदव रम्तेल लगायतले भनाइ राखेका थिए ।

    जिल्लाको कृषि , घरेलु तथा साना उद्योगका उत्पादन सहित पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने उदेश्य संचालन गरिएको मेलामा अवकाेलन गर्न आउने दर्शक भन्दा अतिथि दीर्घ अतिथि धेरै देखिन्थे । मेलामा जिल्लाका उत्पादनहरु प्रदर्शन गर्नका लागि तयार गरिएकाे ७५ वटा स्टलहरुमा आधा भन्दा धेरै खालि थिए। मेलामा देखिएकाे निराशाजनक उपस्थिति तथा प्रदर्शनले मेला प्रतिकाे माेह घटेकाे सर्वसाधारणकाे बुझाइ छ ।

    आयोजकका अनुसार मेला प्रदर्शनी सुरु भएको माघ १६ गतेदेखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रमका लागि टिकट काटेर मात्र प्रवेश गर्न सकिने व्यवस्था मिलाईएकाे छ ।


    क्याटेगोरी : विचार, समाचार

    प्रतिक्रिया दिनुहोस