• काेसिस न्यूज
  • उद्योग वाणिाज्य संघद्वारा सदस्यहरुकाे दुर्घटना बिमा


    रामेछाप- उद्योग वाणिज्य सङ्घ रामेछापले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गरेको छ । सङ्घले सदस्यहरुको हितमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरेको हो ।

    संघमा आबद्ध रहेकाे  आजीवन, एसोसिएटसहित १ हजार ३ सय ८३ सदस्यहरुकाे दुर्घटना बिमा गरेकाे छ ।  बिमामा लाग्ने खर्च सङ्घले व्यहोर्ने गरि बिमा गरिएकाे संघका कार्यकारी अधिकृत नवीन केसिले जानकारी दिएका छन् ।
    सबै सदस्यहरुकाे प्रभु इन्स्योरेन्स लिमिटेडमा गरिएको छ ।

    यही भदौ १५ गते भएको सम्झौतामा रामेछाप उद्योग वाणिज्य सङ्घको तर्फबाट सङ्घका अध्यक्ष नवीनकुमार थापा मागरले हस्ताक्षर गरेका छन् भने प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट मन्थली उपशाखा प्रमुख राम सुनचिउरीले हस्ताक्षर गरेका छन् ।

    बिमा सम्झौतामा दुर्घटनाको प्रत्यक्ष कारणबाट दुर्घटना भएको एकसय त्रियासी दिनभित्र बिमितको मृत्यु भएमा मृतकको परिवारले सतप्रतिशत बिमा रकम पाउने उल्लेख छ । बिमितको दुर्घटना भएको खण्डमा पार्थिव शरीरको परिवहन तथा व्यवस्थापन गर्न १० हजार रुपैयाँ प्रदान गर्ने र यस दफा प्रयोजनको लागि बिमकले कुनै बिल भर्पाइ माग नगर्ने उल्लेख छ ।

    सम्झौता पत्रको परिच्छेद–२ को ५ नम्बरमा काजकिरिया अन्तर्गत दुर्घटनामा बिमितको मृत्यु भएमा बिमाङ्कको अतिरिक्त थप हुनेगरी बिमाङ्कको १० प्रतिशत वा पचार हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोही बराबरको रकम प्रदान गर्ने र यस दफा प्रयोजनको लागि पनि बिमकले कुनै बिल भर्पाइ माग नगर्ने सम्झौतामा उल्लेख छ ।

    त्यसैगरि दुर्घटनाका कारणले दुर्घटनाको ६५ दिनभित्र बिमित पूर्ण अशक्त भएमा दुर्घटनाको प्रकृति हेरी सतप्रतिशत वा ५० प्रतिशत बिमा भुक्तानी गर्ने सम्झौता भएको छ ।
    सम्झौता अनुसार स्पाइनल इन्जुरीका कारण पुनः ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, कुनै एउटा हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पूरै भाग काम नलाग्ने भएमा, दुबै आँखा पुनः दृष्टि नर्फकने गरी काम नलाग्ने भएमा, श्रवण शक्ति नफर्कने गरी दुबै कान नसुन्ने भएमा र बोली नर्फने गरी बोल्न नसक्ने भएमा बिमाको सतप्रतिशत भुक्तानी हुनेछ ।

    त्यस्तै एउटा आँखा पुनः दृष्टि नर्फकने गरी काम नलाग्ने भएमा र  एउटा कान नसुन्ने भएमा बिमा कम्पनीले बिमाको ५० प्रतिशत रकम भुक्तानी गर्ने उल्लेख छ । 


    क्याटेगोरी : अर्थ, समाचार

    प्रतिक्रिया दिनुहोस