सर्वप्रिय नेता गिरीको महा– प्रश्थान

काठमाडौँ । राजनीतिमा लागेर पद र शक्ति आर्जनको सपना नदेख्ने नेता मध्येमा पर्ने प्रजातान्त्रिक नेता प्रदीप गिरीको निधन भएको छ । लामो समय देखि क्यान्सर रोगले थलिएका गिरीको शनिबार उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । गिरीले नेपाली राजनीतिमा करिब पाँच दशकसम्म प्रभावशाली भूमिका निभाए । तर उनले पद र सत्ता प्राप्तिका लागि आशक्ति कहिल्यै देखाएनन् । पछिल्लो २०७४ सालको निर्वाचनमा उनी सिराहा जिल्ला बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने नेता गिरी अब सधैँका लागि अस्ताएका छन् । तर नेपाली राजनीतिमा उनले छोडेका केही असामान्य यादहरुले भने उनलाई सम्झाइरहनेछन् ।
दलको राजनीति गर्ने तर सही र गलत छुट्याएर मात्रै कसैको समर्थन र विरोध गर्ने । कार्यकर्ताले भनेको सबै काम नगर्ने, तर दुःख र अन्यायमा परेकाहरुलाई दिल खोलेर सहयोग पु¥याउने । पार्टीको ह्वीप भन्दा आफ्नो इमान् र निष्ठालाई महत्व दिएर निर्णय लिने । यी र यस्ता थुप्रै प्रसंगहरु छन्, जो उनले नेपाली राजनीतिक इतिहासमा छोडेर गएका छन् ।
भारतका चर्चित समाजवादी चिन्तक डा.राममनोहर लोहियाका विचार र चिन्तनबाट प्रभावित गिरी नेपाली राजनीतिमा एउटा राजनीतिज्ञ मात्रै थिएनन् । उनले आफूलाई एउटा विचारक, दार्शनिक र त्योभन्दा धेरै समाजवादी चिन्तकको रुपमा स्थापित गरेका थिए । धेरैले उनलाई उनलाई गान्धीवादी समेत भन्छन् ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरे पनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई कम्युनिष्ट राजनीतिक दर्शन बोक्ने नेता र दलहरुले पनि उत्तिकै सम्मान गर्छन् । त्यसो त उनले कम्युनिष्ट नेता कार्यकर्ताका अघिल्तिर उभिएर कम्युनिष्ट विचार र दर्शनको ज्ञान समेत बाँडे । जीवनभर कांग्रेसको राजनीति गरेका उनलाई पार्टीभित्र नेताहरुको नेपालमा कम्युनिष्ट फैलाउन सघाएको आरोप समेत लगाउँथे ।
एकदमै साधारण र एकांकी जीवनशैलीमा रमाउने गिरी पटक–पटक कांग्रेसको केन्द्रीय सदस्य भए, सांसद भए । तर, उनी न कहिल्यै पार्टीको नेतृत्वमा जान चाहे, न मन्त्री, प्रधानमन्त्री पदको लोभ देखाए । उनले जीवनभर काठमाडौंमा आफ्नै घर बनाएनन्, बरु डेराको जीवन बाँचे । उनलाई लामो समय आफ्नै घरमा बसाएकामध्ये एक पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले गिरीलाई असंगठित र घरबारमा रुचि नभएजस्तो व्यक्ति भनेका छन् । ’काठमाडौंमा प्रायः भाडावालकै रूपमा रहनुभयो । समयमा भाडा नतिर्ने वा आफूसँग भएको बेला भने घरबेटीलाई जति पनि पैसा दिने स्वभाव उहाँमा थियो । तर, भाडा तिरेको वा बाँकी रहेको हिसाब नराख्ने । घरबेटीले महिनौंमहिनाको बिजुलीको बिल, पानीको बिल के–के जोड्छ; अधिकांशतः हिसाब मिलिरहेको हुँदैन; प्रदीपजी ‘मैले सबै भाडा चुक्ता गरिसकेको छु’ भन्ने, घरधनी भने विवादमा उत्रिरहने,’ उपाध्यायले लेखेका छन् ।
उनले गिरी बारेको अघि लेखेका छन्, ’सधैंको त्यस्तो कचकच देखेर मैले ‘होइन प्रदीपजी, मेरो त्रिपुरेश्वरको घरमा बस्नुहोस भनें र २०५० सालपछि करिब ८–१० वर्ष उहाँ मकहाँ नै बस्नुभयो । कहिलेकाहीँ किशुनजीले मलाई भन्नुहुन्थ्यो, ‘बाबु, प्रदीपलाई लगेर आफ्नो घरमा त राख्यौ तर यो त जोगी हो, तिमीलाई पनि जोगी बनाउला नि !’ कांग्रेसका कतिपय नेताहरुले गिरीको राजनीतिक स्वभाव किसुनजीसँग मिल्दो भनेर चिनाउँछन् ।
नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाकासमेत सहयात्री हुन् । गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक उठबस थियो । गिरीले २०२४ सालमै बनारसमा नेपाल छात्र संघको चुनाव जितेका थिए ।
सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन बिताएका थिए ।
संसदीय राजनीतिमा भने गिरी २०५१ सालपछि मात्रै सत्रिय भए । उनले २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । ०५६ मा भने उनी पराजित भए । २०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनी समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न भए । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लडे । बाम गठबन्धनका बीच पनि उनले चुनाव जिते । उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य थिए ।
संसद्मा मधेशी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर बोल्ने नेता गिरी मधेस आन्दोलनको भाष्य निर्माण गर्ने नेतामध्ये पर्छन् । मधेसी जनताको भावनालाई नजिकबाट बुझेका उनले संविधान निर्माणमा भूमिका खेलेपनि २०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर भने गरेनन् । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । राजनीति गर्ने, तर जिम्मेवार पदमा नबस्ने नेता गिरी भूमिका पाउने डरले भाग्ने गर्थे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस