• काेसिस न्यूज
  • रामेछापकाे माटोमा धेरै अम्लिएपन देखियो


    रामेछाप – रामेछाप जिल्लाका विभिन्न स्थानको माटो परिक्षण गर्दा अत्याधिक मात्रामा अम्लिएपन देखिएको छ । बढ्दो रासायनिक मलको प्रयोग र उचित स्याहार नहुदा रामेछापको अधिकांश स्थानको माटोमा अम्लियपन बढेको पाइएको हो ।
    माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाले रामेछापको मन्थलीमा आयोजना गरेको माटो परिक्षण शिविरमा ल्याइएका अधिकांश माटोको नमुनामा अम्लिएपनको मात्रा अत्याधिक पाइएको हो । ५० प्रतिशत भन्दा बढी अम्लिएपन पाइएपछि कृषि प्राविधिकहरुले तत्काल उपाचारका लागि सुझाव दिएका छन् । डा जनार्दन खड्काको नेतृत्वमा ७ जनाको विज्ञ टोलीले ३ दिन लगाएर माटो परिक्षण गरेका थिए ।
    कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मन्थली नगरपालिकाले आ आफ्नो कार्य क्षेत्रका किशानको माटो परिक्षण गराएका थिए । कुल ५ सय ८ जना किसानबाट प्राप्त माटो परिक्षण गर्दा अधिकांशमा अम्लिएपनको मात्रा धेरै पाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले वताए ।
    गैह्रेका अनुसार परियोजनाले जुनार र आलु उत्पादन हुने क्षेत्रकाे माटो परिक्षण गराएको थियो । तुलनात्मक रुपमा आलु भन्दा जुनार जोन क्षेत्रकाे माटाे केहि मात्रामा राम्रो पाइयो । ‘सन्तुष्ट हुने ठाउँ छैन’ गैह्रे भन्छन् – अम्लिएपन कम हुनुका साथै फस्फोरस र नाईट्रोजनको मात्रा पनि धेरै कम रहेको पाइएकोले सुधारको खाँचो छ । उनले माटोमा पोटासको मात्रा भने सामान्य रहेको वताए ।
    अम्लिएपन बढी भएको माटोमा कृषि चुन प्रयोग गर्न सुझाईएको छ । प्रतिरोपनी ६० देखि १ सय केजि सम्म कृषि चुन प्रयोग गरेमा माटोमा देखिएको अम्लिएपनमा सुधार आउने गैह्रेले वताए ।
    मन्थली नगरपालिका कृषि शाखाकी निर्मला बुढाथोकीका अनुसार माटोको सुधारका लागि रासायनिक मलको प्रयोगलाई कम गर्दै गाईवस्तुको मल, जैबिक मल र कम्पोष्ट मलको प्रयोग वढाउनु पर्ने अवस्था देखिएको छ । भकारो सुधार, गोठ सुधारका अतिरीक्त जग्गामा प्रयोग भएको गोबर मलबाट नाईट्रोजन खेर जान नदिन तत्काल माटोले छोप्ने गरेमा उत्पादन वृद्धि गर्न सकिन्छ ।
    रामेछापको माटोमा समग्रतालाई अध्ययन गर्दा प्राङ्गारिक पदार्थमा कमि रहेको पाइएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले वताईन । ‘माटोमा सुधार ल्याएर कृषि वाली उत्पादनमा वृद्धि गर्न किसानलाई चेतना अभिवृद्धि जस्ता कार्यक्रम संचालन गर्नुपर्छ’ गुरुङले वताईन । उनले कृषि चुन महंगो नभएपनि किसानलाई ढुवानी लगाएतका कठिनाई हुने देखिएको वताइन ।
    खडेरीले पानीको अभाव र जनशक्ति विदेशीन थालेपछि जिल्लामा पशुपालन घटेको छ । न्यून पशु संख्या भएका कारण किसानहरु रासायनिक मलको प्रयोग गर्दै आएका छन । माटोमा हुनुपर्ने पोटास, नाईट्रोजन, फस्फोरस जस्ता तत्वको कमि हुदै आएको बेला माटो परिक्षण गराइएकाले सुधार अभियान संचालनको खाँचो रहेको उनले वताईन ।


    क्याटेगोरी : अर्थ, समाचार

    प्रतिक्रिया दिनुहोस