नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
काठमाडौँ – नन्दप्रसाद–जानुका फाउन्डेशनले आफ्नो तेस्रो ऐतिहासिक पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक गरेको छ। फाउन्डेशनले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पुस्तक लोकार्पण गरेका हुन्।
शिक्षासेवी तथा राणाशासनविरुद्ध संघर्ष गरेका योद्धा नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीको अवसर पारेर फाउन्डेशनले पुस्तक प्रकाशन गरेको हो।
फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार पुस्तकमा दोलखाको भूमिले निरंकुशताको अँध्यारो चिर्दै प्रजातन्त्र, बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनाका लागि जन्माएका थुप्रै वीर योद्धामध्ये २३ जनाको जीवनी र योगदान समेटिएको छ।
दोलखाको समग्र विकास तथा लोकतन्त्र प्राप्तिका लागि योगदान पुर्याएका व्यक्तित्वहरूको संक्षिप्त जीवनी र योगदानमा आधारित रहेर ‘दोलखाका लोकनायकहरू’ प्रकाशन गरिएको उनले बताए। फाउन्डेशनले हरेक वर्ष एउटा पुस्तक प्रकाशन गर्दै आएको उल्लेख गर्दै शिवाकोटीले भावी पुस्ताले पुर्खाहरूको त्याग, संघर्ष र बलिदान नबिर्सून् तथा उनीहरूको जीवनबाट प्रेरणा लिन सकून् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस सभापति थापाले फाउन्डेशनले स्थापना कालदेखि नै प्रकाशन, सम्मान र अनुसन्धानका क्षेत्रमा निरन्तर काम गर्दै आएको भन्दै प्रशंसा गरे। नन्दप्रसाद र जानुकाको योगदानलाई सार्वजनिक रूपमा दस्तावेजीकरण गरिनु सकारात्मक रहेको उल्लेख गर्दै उनले समाज निर्माणमा योगदान गरेका व्यक्तित्वहरूको वास्तविकता र योगदान यसैगरी प्रकाशनमार्फत नयाँ पुस्तासम्म पुर्याउन सकिने बताए।
सभापति थापाले विगतका पुस्ताका अगुवाहरूले शिक्षाका लागि खोलेका ढोकाकै कारण आजको पुस्ताले लोकतन्त्रको अभ्यास गर्न पाएको उल्लेख गरे।
कार्यक्रममा फाउन्डेशनले ‘नन्दप्रसाद–जानुका स्मृति सम्मान’बाट दोलखाका पहिलो जलविद्युत् इन्जिनियर, शिक्षाविद् तथा समाजसेवी ८८ वर्षीय आत्माकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ।
पुस्तकमाथि समीक्षा गर्दै लेखक तथा साहित्यकार भोजराज न्यौपानेले पुस्तकमा समेटिएका व्यक्तित्वहरू समाजका लागि अनुकरणीय रहेको बताए। उनले आगामी प्रकाशनमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई समेत समेट्न सुझाव दिए। राजनीतिक क्षेत्रका व्यक्तित्वसँगै शिक्षा, समाजसेवा लगायत अन्य क्षेत्रमा योगदान गरेका लोकनायकहरूलाई पनि समेट्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष दिनेश प्रसाईं, नेकपाका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जीपछिरिङ लामा, प्रतिमा गौतम र नानु बास्तोलालगायत नेता तथा जिल्लाका अगुवाहरूले मन्तव्य राखेका थिए।
शैक्षिक तथा सामाजिक क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील फाउन्डेशनले सार्वजनिक गरिएको पुस्तक सामुदायिक पुस्तकालयका लागि शान्ति शिक्षा अभियानका अध्यक्ष रविन्द्र महर्जनलाई हस्तान्तरणसमेत गरेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस