रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
रामेछाप – आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले चुनावी अभियानलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल सुझाव सङ्कलन’अभियान सुरु गरेका छन्।
परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र आगामी कार्ययोजनामा जनसहभागिता सुनिश्चित गर्न उनले यो नवीन कदम चालेको बताएका छन्। खड्काले सामाजिक सञ्जालमा सुझाव संकलनका लागि क्युआर कोड र विशेष डिजिटल पोर्टलको माध्यमबाट जिल्लाबासीका गुनासा, आवश्यकता र विकासका योजनाहरू सङ्कलन कार्य सुरु गरेका छन्। “हामीले नेताले बोल्ने र जनताले सुन्ने पुरानो परिपाटीलाई बदल्न चाहेका छौं,“ खड्काले भने, “रामेछापको भूगोल जटिल छ, सबैको घरदैलोमा पुग्न समय लाग्न सक्छ। त्यसैले प्रविधिको प्रयोग गरेर प्रत्येक नागरिकको आवाजलाई मेरो चुनावी सङ्कल्पमा समेट्न यो अभियान थालिएको हो।“
खड्काको प्रचार प्रसार शाखाले दिएको जानकारी अनुसार, डिजिटल माधयममा क्युआर कोड स्क्यान गरेर नागरिकले सिधै आफ्ना समस्या र सुझाव लेख्न सक्छन्। विशेषगरी वैदेशिक रोजगारीमा रहेका रामेछापका युवाहरू र जिल्ला बाहिर रहेका मतदाताहरूलाई लक्षित गरी यो प्लेटफर्म बनाइएको छ। प्राप्त सुझावहरूलाई विज्ञहरूको टोलीले वर्गीकरण गरी प्राथमिकताका आधारमा भावी योजनामा समावेश गरिने खड्काको सचिवालयले जनाएको छ।
यो अभियान सुरु भएसँगै रामेछापका युवा वर्गमा विशेष उत्साह देखिएको छ। खाँडादेवीका स्थानीय युवा सन्तोष तामाङ भन्छन्, “नेताहरू आउँछन्, आश्वासन दिन्छन् र जान्छन्। तर, हाम्रो समस्या के हो भनेर यसरी प्रविधिमार्फत सुझाव मागेको पहिलो पटक देख्दैछौं। यसले उम्मेदवारप्रति जवाफदेहिता पनि बढाउँछ।“
नेपाली राजनीतिमा उम्मेदवारहरूले चुनाव जितिसकेपछि जनतालाई बिर्सने आरोप लागिरहेका बेला खड्काको यो प्रयासलाई नयाँ राजनीतिक संस्कारको सुरुवातका रूपमा हेरिएको छ। जिल्लाका राजनीतिक विश्लेषकहरूका अनुसार, यसले मतदाता र उम्मेदवारबीचको दूरी कम गर्ने मात्र नभई तथ्याङ्कमा आधारित विकासको अवधारणालाई पनि बल पु¥याउनेछ।
खड्काले यसअघि पनि जिल्लामा विभिन्न सामाजिक र विकासका कार्यमा सक्रियता देखाउँदै आएका थिए। अहिलेको यो डिजिटल सक्रियताले उनलाई प्रविधिमैत्री र आधुनिक सोच भएको नेताका रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिन्छ। काँग्रेस रामेछापले यो अभियानलाई जिल्लाका सबै नागरिकसम्म पु¥याउने लक्ष्य राखेको छ ताकि कुनै पनि नागरिक आफ्नो विचार राख्नबाट वञ्चित नहोस्।
निर्वाचनको मुखमा उम्मेदवारले थालेको यो ‘डिजिटल सुझाव सङ्कलन’ ले रामेछापको चुनावी माहोललाई मात्र तताएको छैन, अन्य दल र उम्मेदवारहरूलाई पनि जनमत सङ्कलनका लागि रचनात्मक बन्न दबाब सिर्जना गरेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- २ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ३ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ४ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ५ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ६ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ७ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ८ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन















प्रतिक्रिया दिनुहोस