• काेसिस न्यूज
  • निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म


    रामेछाप – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता गएरातिदेखि लागू भएको छ । आयोगले सूचना जारी गर्दै आचारसंहिता लागू भएको जानकारी गराएको हो ।

    रामेछापमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक आयोजना गरी आचारसंहिताका प्रावधानबारे जानकारी गराएको छ । बैठकमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सबै राजनीतिक दललाई आचारसंहिता पालना गर्दै संयमित रूपमा निर्वाचन गतिविधि सञ्चालन गर्न आग्रह गरे ।

    उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन प्रशासन पूर्ण रूपमा तयार रहेको बताउँदै सबै पक्षलाई आ–आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गरेर सहयोग गर्न अनुरोध गरे ।

    बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रामेछाप शान्त र सुरक्षित जिल्ला रहेकाले सुरक्षाका विषयमा चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । उनले निर्वाचनलाई लक्षित गर्दै विशेष सुरक्षा नीति बनाइएको, फरार कैदी, हराएका हतियार तथा सामाजिक सञ्जालमा हुने गतिविधिमाथि समेत सूक्ष्म निगरानी भइरहेको जानकारी दिए ।

    बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सञ्चारमाध्यममार्फत हुने प्रचारप्रसारका विषयमा पनि सञ्चारकर्मीहरू स्वयं सचेत रहेको बताएका थिए ।

    निर्वाचन आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, उम्मेदवारी खारेजीलगायतका कारबाहीको व्यवस्था रहेको आयोगले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस