• काेसिस न्यूज
  • फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद


    रामेछाप – नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आइतबार ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद कार्यक्रम आयोजना गरेको छ।

    फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रूपमा स्मरण गर्दै उहाँको योगदानको सम्मानस्वरूप उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा जेन–जी आन्दोलनको पृष्ठभूमि,यसले नेपाली राजनीतिमा पारेको प्रभाव, युवापुस्ताको बढ्दो राजनीतिक सक्रियता तथा लोकतान्त्रिक अभ्यासमा देखिएका परिवर्तनका विषयमा फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूले आ–आफ्ना धारणा राख्दै गहन छलफल गरेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनमा घुसपैठ भएको दाबी गरे। उनले केही समूहले आन्दोलनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको आरोप लगाउँदै आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको बताए। तामाङले आगामी फागुन २१ गते निर्वाचन हुन नसक्ने धारणा राख्दै वर्तमान राजनीतिक सङ्कटको निकास संसद् पुनः स्थापना नै भएको स्पष्ट पारे।

    वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति एवं नेकपा एमालेका नेता आनन्दकुमार श्रेष्ठले भदौ २३ गतेको आन्दोलन र भदौ २४ गते घटेको घटनालाई फरक–फरक रूपमा हेरेर निष्पक्ष छानबिन हुनुपर्ने बताए। भदौ २४ गतेको घटना कुनै आन्दोलन नभई विध्वंस भएको उनको भनाइ थियो। उनले एमाले संसद् पुनः स्थापनाको पक्षमा रहे पनि सरकारले निर्वाचनको वातावरण बनाएमा पार्टी निर्वाचनमा जान तयार रहेको स्पष्ट गरे।

    मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले युवाहरूको केही माग जायज भए पनि निर्णायक मोडमा पुग्दा आन्दोलन दिशाहीन बनेको टिप्पणी गरे । आन्दोलन व्यक्तिगत रिसिवीमा केन्द्रित हुँदा व्यक्तिगत, संस्थागत तथा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको र यसले मुलुकलाई कम्तीमा १० वर्ष पछाडि धकेलेको उनको भनाइ थियो।

    जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले लामो समयदेखि एउटै नेतृत्वको निरन्तरता, बढ्दो बेरोजगारी, महँगी, भ्रष्टाचार तथा सुशासनको अभावका कारण युवापुस्तामा असन्तुष्टि चुलिँदै जाँदा जेन–जी आन्दोलन जन्मिएको बताए। उनले आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने स्पष्ट म्यान्डेट पाइसकेको उल्लेख गर्दै वर्तमान अवस्थामा निर्वाचन नै एक मात्र विकल्प भएको धारणा राखे।

    नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले जेन–जी आन्दोलनले राजनीतिक सचेतना बढाएको, वैकल्पिक राजनीतिक धारको उदय गराएको र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगलाई थप सशक्त बनाएको बताए।

    कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता तथा पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस