• काेसिस न्यूज
  • राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक : राष्ट्रपति


    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताए ।राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले यस्ताे बताएका हुन ।

    कार्यक्रममा राष्ट्रपति पाैडेलले संघीयता,सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारेका छन् । उनले भने– ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’

    युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भैरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भिर बनेर आएको बताउँदै राष्ट्रपति पाैडेलले भने हामीसँग यति धेरै प्राकृतिक संभावनाहरु छन्, तीनलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन । “यसका लागि हाम्रा स्रोत र संभावना अनुरुपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका संभावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो,”राष्ट्रपति पौडेलले भने ।

    राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताए – ‘साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ । तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ । परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतिक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।’
    उहाँले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्नका लागि २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गरे। उनेले नवौं पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनाबद्ध विकासमा समेट्ने प्रयास भएको पनि स्मरण गर्दै भने– ‘२०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलोपटक युवा नीति २०६६ जारी गरियो र पछि राष्ट्रिय युवा नीति, २०७२ जारी भयो ।’

    राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेकाे बताए । उनले भने –‘यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति,सह–अस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ ।’

    राष्ट्रपति पौडेलले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको बताउदै उक्त जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसांख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस