मन्थलीकाे पर्यटन विकासका लागि काठमाडौं बहस
काठमाडौ – मन्थलीको पर्यटन विकासका लागि काठमाडौँमा बृहत अन्तरक्रिया तथा बहस भएकाे छ । बिहीबार मन्थली नगरपालिकाले मन्थलीले नगरकाे पर्यटन विकासका लागि काठमाडौंमा बहस चलाएका हाे
रामेछापको मन्थली नगरपालिकाले नगरका पर्यटकीय गन्तव्यहरुको प्रचार तथा मन्थली विमानस्थलको नियमित सञ्चालनको पहलका लागि काठमाडौंमा बृहत अन्तरक्रिया तथा बहस कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले राजधानी काठमाडौँमा पहिलो पटक नगरको पर्यटन विकास र मन्थली विमानस्थलको स्थायित्वका लागि कार्यक्रमकाे आयोजना गरेको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन विकासका लागि चासो राखेर तीनै तहका सरकारका प्रतिनिधि तथा सरोकारवालासहित छलफल गर्नु राम्रो काम भएको बताए । उनले रामेछाप जिल्ला पर्यटनको लागि सम्भावना भएको जिल्लाका रुपमा रहेको बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहजीकरणको प्रतिवद्धता समेत जनाए ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले रामेछापको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै रामेछाप र मन्थलीको पर्यटन विकासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग हुने प्रतिवद्धता जनाए । त्यस्तै बागमती प्रदेशको उद्योग तथा पर्यटन समितिका सभापति आनन्द कुमार श्रेष्ठले पर्यटन क्षेत्रलाई सरकारले आर्थिक उपार्जनको लागि महत्वपूर्ण क्षेत्रका रुपमा रहेकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर मन्थलीसहित समग्र रामेछापको पर्यटन क्षेत्र विकास गर्न सकिने बताए ।
उनले रामेछापको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने समेत प्रतिवद्धता जनाएका छन् । हाल पर्यटकीय सिजनमा मात्रै मन्थली विमानस्थलबाट लुक्लाको उडान भइरहेको र यसबाट पनि मन्थलीले अपेक्षित लाभ पाउन नसकिरहेको भन्दै उनले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्ने बताएका हुन् ।
अर्का प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले पर्यटन विकासका लागि स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्ने र यसका लागि स्थानीय तहहरुले महत्वपूर्ण भूमीका खेल्नुपर्ने बताएका छन् ।जिल्लाकाे उत्पादन किवी, जुनार लगायतका फलफूलका लागि रामेछाप प्रशिद्ध रहेको भन्दै यस्ता फलफूल प्रशोधन गरेर फरक- फरक उत्पादन दिन सकिने र यसो गर्दा पर्यटनसँगै समृद्धि हासिल हुने उनको भनाइ छ । सांसद श्रेष्ठले जहाज प्लेन मात्रै सबै कुरा नभएकाले मन्थली विमानस्थल नचल्दा पनि पर्यटक आउने वातवरण बनाउनुपर्ने बताए
अर्की सांसद माया कार्कीले मन्थलीमा केही पनि छैन भन्ने कुरा गलत भएको बताउँदै स्तरीयतामा केही कमजोरी हुन सक्ने भएपनि होटल तथा अन्य पूर्वाधारहरु तुलनात्मक रुपमा राम्रो भएको बताएकी छिन् । मन्थली नगरपालिकाकी पूर्व उपमेयरसमेत रहेकी उनले मन्थली बजार लगायतका आसपासका क्षेत्र परियोजनाको डुबान क्षेत्रमा पर्ने गलत हल्लाले पनि लगानीकर्ता निरुत्साहित भइरहेको बताउँदै यस्ता हल्लाहरुलाई चिरेर लगानीकर्तालाई आकर्षण गर्नुपर्ने बताएकी छिन् ।
पूर्वमन्त्री कमल चौलागाईँले पर्यटन विकासका लागि पर्यटनमैत्री वातावरणको निर्माण र पर्यटकीय गन्तव्यहरुको पहिचान गरि तिनको प्रचार गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहले यसतर्फ ध्यान दिन सके आन्तरिक र बाह्य पर्यटकहरु बढ्न सक्ने बताएका छन् । सँगै, समग्र तामाकोशी जलाधार क्षेत्रको समृद्धिको बाहकका रुपमा लिइएको लामाबगर–बर्दिबास सडकमार्ग मन्थली हुँदै जाने भएकाले यसका लागि रामेछाप र दोलखाले संयुक्त रुपमा काम गर्न जरुरी रहेको पनि उनको भनाइ छ ।
पूर्वमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप र मन्थलीमा केही पनि छैन भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले मन्थलीसहित रामेछाप जिल्लामा धेरै कुरा भएको र धेरै सम्भावना पनि भएकाले केही व्यवस्थित हुन नसकेको भए त्यसलाई सुधार गर्दै जान सकिने बताए । उनले पनि सिन्धुलीको दुम्जा र रामेछापको भँगेरीलाई जोडेर पर्यटन विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् । रामेछापबाट २ पटक प्रतिनिधिसभा सदस्य बनेका श्रेष्ठले हाल जिल्लामा भौतिक पूर्वाधारको क्षेत्रमा विकास भइरहे पनि पर्याप्त नभएको र थप लगनशीलताका साथ राजनीतिक नेतृत्वहरुले काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले मन्थली विमानस्थललाई नियमित सञ्चालनका लागि मन्त्रिपरिषद वा सम्बन्धित निकायबाट निर्णय गराउन पहल भइरहेको र यसका लागि साथ दिन सबै राजनीतिक दलका प्रतिनिधिसहित व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले मन्थली विमानस्थल बाह्रै महिना चल्छ भन्ने ग्यारेन्टी भएको अवस्थामा आन्तरिक लगानी बढाउँदै जिल्ला बाहिरका लगानीकर्तालाई समेत आकर्षण गर्न सकिने भएकाले नगरको पहिलो बटमलाइन नै मन्थली विमानस्थलको स्थायित्व भएको बताए । साथै, मेयर श्रेष्ठले नगरका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै, पूर्वाधारको विकास गर्दै र तिनको प्रचारप्रसार गर्दै जाने योजना बनाएको जानकारी गराउँदै स्थानीय तहले गर्न सक्ने जति सबै पहल गर्न नगरपालिका तयार रहेको बताएका छन् ।
सहभागीहरु पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), टानका अध्यक्ष नीलहरि बाँस्तोला, पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, पाटा नेपाल च्याप्टरकी सदस्यसमेत रहेकी पर्यटन व्यवसायी सरिता लामा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल र वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक राधाकृष्ण थापा लगायतले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्न सबै राजनीतिक दल र सरोकारवालाई आग्रह गरेका छन् । राज्यले पूर्वाधार बनाएपछि निजी क्षेत्रले लगानी गर्ने भएकाले निजी क्षेत्रलाई लगानीको प्रतिफल प्राप्त हुन्छ भनेर आकर्षित गर्नुपर्ने उनीहरुको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ अमेरिकामा दशैंको रौनक , एनआरएनएका नेता सुवेदी सँग तीन सयभन्दा बढीले गरे टिका ग्रहण
- २ राष्ट्रपति समक्ष महिला आयोगको प्रतिवेदन पेश
- ३ काठमाडौंबाट सिन्धुली जाँदै गरेकाे बस रामेछापमा दुर्घटना हुदा एकजनाकाे मृत्यु १० जना घाइते
- ४ राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रध्यानन्यायधीशकाे सपथ ग्रहण
- ५ बाढी प्रभावित माझी बस्तिमा डा. सैयदद्वारा खाद्यान्न सामग्री वितरण
- ६ मन्थली काठमाण्डौं नियमित उडान सुरु
- ७ रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सिफारिस
- ८ रामेछाप ,दाेलखा हुँदै काठमाडौ सडक संचालनमा
प्रतिक्रिया दिनुहोस