• काेसिस न्यूज
  • रामेछाप–काठमाण्डौं उडान राख्ने सहमति


    रामेछाप । रामेछाप विमानस्थलबाट काठमाण्डौंका लागि निजी वायु सेवा कम्पनीहरुलाई परिवर्तित उडान तालिका पेश गर्ने विषयमा सहमति भएको छ । सहमति बमोजिम विमान कम्पनीले जेठ १८ पछिको उडान तालिकामा रामेछापको उडान समेत समेट्नु पर्ने भएको छ ।
    नेपाल नागरिक उडड्य प्राधिकरणका उप महानिर्देशक प्रेमनाथ ठाकुर सहित प्राधिकरणका शिर्ष अधिकारी र वायु सेवा कम्पनीका प्रतिनिधि समेतको उपस्थितिमा मंगलबार काठमाण्डौंमा भएको बैठकमा त्यस्तो सहमति भएको हो । यसअघी रामेछाप विमानस्थलमा जहाज राखेर लुक्लाका लागि व्यवसायीक उडान गर्दै आएका सीता, तारा र समिट एयरले सातामा कम्तीमा एक उडान काठमाण्डौंका लागि गर्ने गरी परिवर्तित उडान तालिका बनाउने सहमति भएको हो । उक्त सहमति अनुसार आगामी जुन महिना देखिको उडान तालिकामा काठमाण्डौं – रामेछाप – काठमाण्डौं उडान समेत समावेश हुने भएको छ ।
    यसअघी रामेछाप विमानस्थलबाट काठमाण्डौका लागि उडान माग गर्दै आएपनि विमान कम्पनीहरुले नाफामुखी क्षेत्र लुक्लाको उडानलाई मात्र ध्यान दिएका थिए । वारम्बारको प्रयास असफल भएपछि रामेछापका सांसद पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले रामेछापका नागरिकलाई सुविधा दिने गरी उडान नराखे लुक्लाको उडान समेत हुन नदिने चेतावनी दिएपछि विमान कम्पनी रामेछाप – काठमाण्डौं उडानका लागि केहि लचक भएका हुन । त्यसमा ठाकुरले समेत सहयोगीको भूमिका निर्वाह गरेका छन् ।
    यसैविच जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको अध्यक्षतामा बिहिबार जिल्ला समन्वय समितिमा भएको छलफलमा रामेछापबाट काठमाण्डौंका लागि सातामा एक उडान गर्दा जिल्लाबासीले सहज यात्रा गर्न पाउने भन्दै सो कार्यमा सहयोग गर्न वायु सेवा कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरे । हुदैन, चल्दैन, यात्रु हुदैनन् भन्ने भन्दा पनि हुन्छ , चल्छ, हामी चलाउछौं भन्ने सकारात्मक कुरा गरेर यात्रु आकर्षित हुने प्याकेज ल्याउनका लागि सहभागिहरुले जोड दिएका थिए ।
    विरामी, असक्त, वृद्धबृद्धा, जनप्रतिनिधि, साहुमहाजन, समाजसेवि सवैले रामेछापको विमानस्थल नियमित संचालन भएमा सेवा लिने सहभागिले वताएका थिए । उचित भाडा निर्धारण गर्नुस, जहाज चल्छ, सहभागिको समेत जिज्ञासा समेटेर जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले भनिन् – अन्य वहाना अव चल्दैन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस