• काेसिस न्यूज
  • बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम


    रामेछाप — उमाकुण्ड गाउँपालिका–२ स्थित बाम्तीभण्डार बजारमा उद्योग तथा बाणिज्य कार्यालय रामेछापले बजार अनुगमन गरेको छ। बिहीबार गरिएको अनुगमनमा बजारका होटल, पसल तथा विभिन्न व्यवसायको स्थलगत निरीक्षण गरिएको हो।

    जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले व्यवसाय सञ्चालनको अवस्था, मूल्यसूची, साइनबोर्ड, दर्ता तथा नवीकरण, म्याद गुज्रेका सामग्रीको अवस्था, अघिल्लो अनुगमनमा दिइएका निर्देशनको कार्यान्वयन तथा खरिद–बिक्री बिलको प्रयोगलगायत पक्षको जाँच गरेको थियो।

    अनुगमनका क्रममा खाद्यान्न, फलफूल, कस्मेटिक, लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक सामग्रीका पसलसँगै होटल तथा भोजनालयहरूमा समेत निरीक्षण गरिएको उद्योग तथा बाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले जानकारी दिए।

    निरीक्षणका क्रममा केही व्यवसाय दर्ता नभएको, प्यान नम्बर नलिएको तथा नवीकरण नगरेको पाइएको भन्दै त्यस्ता व्यवसायीलाई एक साताभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिइएको संयोजक केसीले बताए।

    अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिसहितको संयुक्त टोलीको सहभागिता रहेको थियो।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस