• काेसिस न्यूज
  • सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,


    रामेछाप – माघ २७ गते भएको सवारी दुर्घटनाको पिडित पक्षहरुसँग प्रशासनले ११ बुदे सहमति गरेकाे छ । जिल्ला सुरक्षा समितिले मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि सवारी सञ्चालनमा कडाइ गर्ने सम्मका ११ बुँदे निर्णय सार्वजनिक गरेको छ।

    दुर्घटनामा परि ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समितिले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सम्बन्धित यातायात सेवा प्रा.लि.लाई निर्देशन दिएको छ। साथै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र आवश्यक समन्वय मिलाउने निर्णय गरिएको छ।

    दुर्घटनाका मृतकहरूको शव परीक्षण गरी आफन्तको सहमति र सहजीकरणमा अन्त्येष्टि गर्ने व्यवस्था मिलाउने, सवारी चालकलाई कानुनअनुसार कारबाही अघि बढाउने तथा दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य जारी राख्ने निर्णय पनि गरिएको छ।

    यस्तै, चालकको लापरबाहीका कारण दुर्घटना भएको पुष्टि भएमा पीडित पक्षलाई कानुनअनुसार थप सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ। पीडित पक्षबाट प्राप्त मागपत्र कार्यान्वयनका लागि गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने समेत निर्णय भएको छ।

    समितिले सवारी सञ्चालन तथा सडक सुरक्षासम्बन्धी विषयमा पनि कडाइ गर्ने जनाएको छ। यात्रुको ज्यान जोखिममा पारेर सवारी सञ्चालन गरे दर्ता खारेजसम्मको कारबाहीका लागि सिफारिस गर्ने, स्थानीय तहमा सवारी साधन सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने तथा यातायात व्यवसायी र समितिलाई जिम्मेवार बनाउने निर्णय गरिएको छ।

    जिल्ला प्रवेश गर्ने सीमा नाकामा चालक, सहचालक तथा सहयोगीको मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइने भएको छ। सडकका जोखिमयुक्त मोड, पुल र साँघुरा खण्डहरूको पहिचान गरी मर्मत तथा स्तरोन्नति कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि भएको छ।

    त्यसैगरी, सवारी साधनको नियमित प्राविधिक परीक्षण, चालकको योग्यता र स्वास्थ्य परीक्षण, ओभरस्पिड र ओभरलोड अनुगमन, सडकमा चेतावनी संकेत राख्ने तथा यात्रुवाहक सवारीमा व्यावसायिक प्रयोजनका लागि सामान ढुवानी नगर्न कडाइ गर्ने निर्णय समितिले गरेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस