• काेसिस न्यूज
  • रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय


    रामेछाप – रामेछाप उद्योग तथा वाणिज्य कार्यलयलाई नमुना कार्यलय घाेषणा गरिएकाे छ । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उक्त कार्यालयलाई नमुना कार्यालय घोषणा गरेकी हुन् ।

    उद्योग तथा वाणिज्य कार्यालय रामेछापलाई सोमबारदेखि एकल विन्दु सेवा केन्द्र (नमुना कार्यालय) का रूपमा घाेषणा गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीको विश्वास जित्ने गरी पारदर्शी, छिटो र नागरिकमैत्री सेवा प्रवाह गर्न कार्यालयलाई निर्देशन दिइन् ।

    “नमुना कार्यालय बन्नु ठूलो कुरा होइन, त्यसअनुसारको सेवा निरन्तर दिन सक्नु ठूलो कुरा हो,” उनले भनिन्। सार्वजनिक सेवाको गुणस्तर कायम राख्दै सेवाग्राहीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

    मन्त्री श्रेष्ठले उद्योगसम्बन्धी सेवा प्रवाहलाई सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन बागमती प्रदेश सरकारले एकल विन्दु सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याएको जानकारी दिइन्। आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै उद्योग तथा वाणिज्य कार्यालयलाई यस्तै नमुना कार्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै नमुना घाेषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताइन् ।

    उनका अनुसार अब उद्योग दर्ता, नवीकरण, नाम दर्ता, सिफारिसलगायतका सेवा एउटै स्थानबाट उपलब्ध हुनेछन्। डिजिटल सेवा प्रणाली, गुनासो व्यवस्थापन, समयमै सेवा प्रवाह, सुशासन तथा उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिने उनले स्पष्ट पारिन्।

    कार्यक्रममा मन्त्रालयका सचिव जीवलाल भुसालले उद्योगसम्बन्धी सबै सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकल विन्दु सेवा केन्द्र स्थापना गरिएको बताए। यसबाट सेवाग्राहीको समय र लागत दुवै घट्ने विश्वास व्यक्त गर्दै उनले सेवाको प्रभावकारिता र निरन्तरतामा विशेष ध्यान दिनुपर्ने बताए।

    उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले नमुना कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा प्रशासनिक संरचना तयार गरिएको जानकारी दिए। छिटो, सरल तथा डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने गरी कार्यालयलाई व्यवस्थित गरिएको उल्लेख गर्दै उनले गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे .

    रामेछाप यस्तो सेवा लागू गर्ने प्रदेशको तेस्रो जिल्ला हाे ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस